भक्तपुर, ०३ जेष्ठ २०८१: भक्तपुरको मुनि बिहारले बुद्ध जयन्तीको अवसर परेर आयोजना गरिएको नैचाल-मालीगाऊँ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा भएको छ। भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा बुद्ध सम्वत् २५६८ को बुद्धजयन्तीको अवसर परेर आयोज गरिएको साइकल यात्राको तयारी पुरा भएको हो।
जुजु बाइक्सको प्राविधिक सहयोगमा साइकल कनेक्ट भक्तपुरको संयोजनमा यहि जेष्ठ ५ गते हुने साइकल यात्राको तयारी पुरा भएको कार्यक्रम संयोजक सुमित बालाले जनाएका हुन्। संयोजक बालाका अनुसार साइकल यात्रामा सहभागी हुन भक्तपुर लगायत काठमाडौं, पाटन, किर्तिपुरबाट पनि सहभागीहरूले नाम दर्ता गराएका छन्।
कार्यक्रमको लागि एक सय नौ जनाले नाम दर्ता गराएको उनले जनाए। बिगत ३ वर्ष देखि मुनि बिहारले बुद्ध पुर्णिमाको साप्ताहिक कार्यक्रम अन्तर्गत साइकल यात्रालाई पनि समावेश गर्दै आएको संयोजक बालाको भनाइ छ।
बिहान ७ बजे बाट शुरू हुने साइकल यात्रा भक्तपुर ईनाचो अवस्थित मुनि बिहारबाट शुरू भइ सुकुलध्वाका, तःमारी, राम मन्दिर, सुर्यविनायक गणेश मन्दिर, पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, पाटी भन्ज्याङ, बोक्चे घाङ्ग (बुकाचो गढी), नैचाल गोम्बा डाँडा, काक्राबारी, मालीगाँउ बुद्ध पार्क पुगेर सिपाडोल डोलेश्वर हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन हुनेछ। साइकल यात्रीहरूलाई नैचालमा गोम्बा डाँडा संरक्षण समितिबाट तथा मालिगाँउमा स्थानिय अगुवाहरूबाट स्वागत तथा सम्मान कार्यक्रम हुनेछ। साथै भैषर्य वास पस:, इनाचोले स्वास्थ्य सेवा प्रदान गर्ने आयोजकले जनाएको छ।