Homeकृषि२१औं राष्ट्रिय धान दिवसमा प्रधानमन्त्री दाहालको शुभकामना

२१औं राष्ट्रिय धान दिवसमा प्रधानमन्त्री दाहालको शुभकामना

भक्तपुर, १५ असार २०८१: प्रधानमन्त्री पुष्पकमल दाहालले २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले भने, “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ मनाउन लागिएको २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।”

उनले नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र यसको कार्यान्वयनका लागि नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ समेत जारी गरेको बताउंदै उक्त ऐनमार्फत् नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानुनी अधिकारको रूपमा स्थापित गरिएको बताए। यसैगरी, खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिको लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीति कार्यान्वयनमा राखेको उनको भनाइ छ।

उनले शुभकामना संदेश मार्फत भने, ”जनताको जीवनशैली र जनजीविकासँग जोडिएको धान बालीको आर्थिक, सामाजिक र साँस्कृतिक महत्त्व रहेको छ। खाद्य तथा पोषण सुरक्षामा मात्र नभएर धानले कृषि क्षेत्रको गार्हस्थ्य उत्पादन तथा देशको अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान गर्दछ। तथापि, आन्तरिक उत्पादन अपर्याप्त भएकाले धान चामल आयात वर्षेनी बढ्दै गएको छ। यस परनिर्भरतालाई कम गर्न र राष्ट्रियस्तरमा धानको उत्पादन बढाउन वर्तमान सरकारले रासायनिक मल र गुणस्तरीय बीउको उपलब्धता, सिंचाइ सुविधा र प्रविधिको विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरूमा प्राथमिकता दिएको छ। सरकारले आगामी आ.व. २०८१/८२ को बजेट वक्तव्यमा मसिना धानको प्रवर्धन तथा चैते धानको क्षेत्र विस्तारका विशेष कार्यक्रमहरू समावेश गरेको छ।”

जलवायु परिवर्तनका कारण धानलगायतका बालीहरूमा परेर्को नकारात्मक असरको न्यूनीकरण गरी धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ। नेपाल सरकारले जलवायु अनुकूलित प्रविधिहरूको प्रसार, जैविक विविधताको उपयोग गरी पोषणयुक्त धानका उच्च उत्पादन दिने जातहरूको विकास तथा उत्पादनमा कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत् धान बालीको उत्पादन बढाउने रणनीति लिएको जानकारी उनले दिए। यस्ता कार्यक्रमको कार्यान्वयनबाट धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनको विश्वस्त छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments