Homeजीवनशैलीरानीझुला झोलुङगे पुलले गिज्याईरहेको नगरकोट

रानीझुला झोलुङगे पुलले गिज्याईरहेको नगरकोट

सम्बार लामा
भक्तपुर, १६ असार २०८१: २०८१ असार ८ गते शनिवारको दिन नगरकोटको शान्ति डांडामा भव्यरुपमा संचालन भएको “पृथ्बी सुद्धिकरण” पुजामा सरिक भई प्रसाद ग्रहण गरिसकेपछि “रानी झुला पुल” मा राखेको सरसफाई कार्यक्रम तर्फ हानिने निधो गरि हानियो पुलतिर … सरर ररर…. बाईमा … वडा अध्यक्ष धन वहादुर लामा र म… घुम्ति वाटोहरुमा सुसेल्दै र दिनभरीको कार्यक्रमको बेलीविस्तार गर्दै ….. ।

नगरकोटको सल्लाघारी परिसरमा निर्माण भएर सञ्चालनमा आएको झोलुङगे पुलमा लामो समय पश्चात यात्रा गरेर आनन्नद लिने पर्यटकहरुको साथमा मैले पनि पुलमा यात्रा गर्ने सुअवसर मिल्यो। आफनै घरको आंगनमा निर्माण भएको पुलको वारेमा मलाई खासै चासो त थिएन तर लामो समय पश्चात पुल वरपर छताछुल्ल रुपमा छरिएको फोहोर व्यवस्थापन तथा वातावरण सरसफाई कार्यक्रमको सिलसिलामा अवलोकन गर्ने र सफाई गर्ने अवसर जुरयो मलाई। फोहोरहरु संकलन गरी बोरामा प्याक गरेर नगरपालीकाको गाडीमा हाली दिए।

सरसफाई अभियानमा वडा नं. ६ र ७ का वडा अध्यक्षज्यू तथा कर्मचारीज्यूहरु, नगरप्रहरीका प्रहरी जवानहरु, नेपाल प्रहरीका अधिकृतज्यू तथा जवानहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिज्यूहरु, युवा वर्ग, स्थानीय वडा वासी लगायत अन्य विभिन्न पक्षबाट पनि प्रशस्त सहभागीता जनाईएको थियो। लामो समयसम्म म यो पुलमा नजानुको कारण पनि यहि थियो कि यो पुलको निर्माण कता कता सहि ठाउमा छैन है भन्ने सुरुदेखि लागेको थियो। केही साथीहरुको विचमा पक्ष र विषक्षमा राम्रै वहस र छलफलहरु पनि नभएका हैनन। कतिले त मलाई विकास विरोधी र गरि खाएको हेर्न नसक्ने, डाहा गर्ने, ईष्र्या गर्ने भनेर पनि भन्न भ्याए।

पुलको आवश्यकता कस्तो ? किन ? कहां ? हुनु पर्छ भन्ने विषयमा पनि केही बुदाहरु पस्केको थिए मैले। यो पुल पर्यटकिय गन्तव्यको लागि मात्रै हो, अरु औचित्य कदापी छैन। पर्यटकिय गन्तव्यको लागि निर्माण गरेपछि पर्यटकीय आधार पनि तयार गर्नु पर्छ है भन्ने मेरो वुझाई थियो। सुरुमै गरेका कुराहरु अहिले आएर छताछुल्ल देख्यो। यो त सत्य होनी।

हजारौ पटक त्यहि वाटो ओहोर दोहोर गरेर सडकलाई अस्तव्यस्त पार्दै पार्किङ गरेका गाडी र बाईकहरुको भिड हेरेर फर्कने गरेको थिए। यो पुलमा शुरु शुरुमा पुल चढे वापत केही रकम असुल्ने गरेको थियो र साथमा पार्किङको पनि पैसा तिर्नु परथ्यो। पछि वरीपरीका संघसंस्था, वुद्धिजीवी, नगरपालीका तथा सरकारी निकायको अनुमगन पश्चात पुल चढ्न पैसा तिर्नु पर्ने र सडकमा पार्किङ गरेका सवारी साधनको पार्किङ शुल्कको व्यवस्थालाई निशेध गरेको हुनाले हाल कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन।

पुलको वारी र पारी केही समय अवलोकन गर्दा पारिवारिक पिकनीक आउने पर्यटकहरुको घुईचो देखिन्थ्यो। यत्रतत्र सवै जना परिवारसंगै ड्राई पिकनिकको मज्जा लिईरहेका थिए। हरेक पाखा, मोड, शितल छहारी र सडकका किनाराहरुमा पर्यटकहरुले मज्जा लिईरहेको दृष्यहरु देख्दा गर्व गर्न लायकको थियो। सबै पर्यटकहरु भिडियो खिच्न, टिकटक बनाउन, फोटो खिच्न व्यस्त देखिन्थ्यो। उकालो ओरालोमा दौडदै, पुलमा हिडदै र मुस्कुराउँदै फोटो र भिडियो खिच्नेहरुको भिडले मेरो मनलाई आनन्दित र शान्ति तुल्याई दियो र भित्रभित्रै हर्षित भए। यदाकदा मानसपटल र मेरो हृदयबाट नगरकोटलाई माया गर्ने पर्यटकहरुप्रति आभार व्यक्त गरि रहें।

सवारी साधन पार्किङ गर्ने स्थल वरीपरी र वारीपारी पुलकै मुखमा यत्रतत्र प्लाष्टिक, त्रिपाल बोराले वेरेको छाप्राहरु वेवारिसे अवस्थामा देखिन्थ्यो किन कि हालसालै त्यस क्षेत्रमा फोहोरजन्य वस्तुले सौन्दर्यमा कुरुप र वातावरण प्रदुषणको कारणले गर्दा भक्तपुर प्रशासन, भक्तपुर नगरपालीका, चांगुनारायण नगरपालीका अन्तर्गत वडा नं. ६ र ७ को विशेष पहलमा त्यस क्षेत्रमा पसल व्यवसाय संचालन गर्न निषेध गरिएको थियो। अझ अर्को महत्वपूर्ण कुरा पुलभन्दा ठीक २०० मिटर तल भक्तपुर नगरवासीले पिउने पानीको मुख्य मुहान रहेको छ र यसै मुहानलाई दुषित बनाएको भन्ने जनगुनासोको आधारमा त्यस क्षेत्रमा वातावरणीय दृष्टिकोणवाट मध्यनजर गर्दै स्वच्छ वातावरणको रुपमा निगरानीमा राखिएको छ हालको लागि। पसल संचालन गर्नेहरुको टहरा प्लाष्टिक र त्रिपालले ढाकिएको थियो, च्यातिएको, फाटेको थियो। यी दृष्यहरुले चाहि साह्रै नै नगरकोटलाई गिज्याईरहेको थियो।

पाखाभरी पानीको वोतलहरु छरिएका थिए, फुटेका वियरका वोतलहरु यत्रतत्र छरिएका थिए, कुरमुरे र चिजवल, विस्कुटका खोलहरु यत्रतत्र छरिएका थिए। हजारौ पर्यटकहरुको आवगमन हुने स्थानमा व्यवस्थित र हेर्न लायकको एउटा शौचालय थिएन, ओपन ट्वाईलेट भन्दा फरक नपर्ला, पुल निर्माण स्थल भएंकर ठाडो भिर भएको हुनाले त्यहाँ कुनै तारका जाली वा बार लगाईएको छैन। कुनै पनि वेला नसोचेको दुर्घटना घट्न सक्छ। गाडी वा वाईक रोकेर पुलसम्म जाने बाटो दुर्गम पहाडको जस्तै सिमांकन मात्रै रहेछ, पानी परेको अवस्थामा चिप्लिएर फर्कन एकदम गारो छ र झर्न पनि गारो छ।

सल्लाघारी भएको हुनाले वाटो भरी सल्लाका पात झरेर ढाकिएको छ भने बाटो झनै चिप्लने हुन्छ। त्यहाँ आउने पर्यटकहरु पुल चढ्नको लागि मात्र नभएर खोलामा पौडी खेल्न जानेको भिड पनि त्यतिकै देखिन्थ्यो। चिसो र स्वच्छ पानीमा पौडी खेल्ने रहर पनि यो महादेव खोलाले धेरैको धोको पुरयाउदै आएको छ। पुलमा जाने वाटो वरीपरी अस्थाई रुपमा संचालन पसलका मालिकहरुबीच पनि विचविचमा घमासान लडाई हुँदै आएको छ । एकले अर्कोको रिस गर्ने र डाहा गर्ने प्रवृतिले गर्दा यहा नगरकोटको वेज्जत धेरै तरिकाबाट हुँदै आएको छ। यहि झोलुङगे पुलबाट लगभग १५० फिटको माथि (उचाई) बाट नेपालकै सवैभन्दा लामो जीपलाईन संचालनमा रहेको छ। यी चीजहरु पर्यटकिय गन्तव्यको रुपमा स्थापित भएका हुन र यसलाई व्यवस्थित र संरक्षित तरीकाले संचालन गर्नु नितान्त आवश्यक छ।

हाल यहाँ पसल व्यवसाय संचालन गर्न निशेधाज्ञा जारी गरिएको छ भने सबै पसलहरु बन्द छन। यहाँ मःम, चाउमिन, पानीपुरी, थुक्पा, लाफिङ, पानी, वियर, कोक, फन्टा, सुर्तिजन्य पदार्थ लगायतका सरसामानहरुको उपभोग गर्न पाईन्थ्यो। अहिले यहाँ चिरेर नुनखुर्सानी दलेर खाने हरियो कांक्रो मात्रै पाईन्छ।

नगरकोट वासीमा पनि चेतना खुल्नु र खोलाउनु पनि नितान्त आवश्यक देखियो। जसरी पनि कमाउनु पर्छ भन्ने होईन आफनो क्षेत्र, गाउँ र शहरको ईज्जतमा पनि ध्यान दिनु पर्छ र ईज्जत पनि जोगाउनु पर्छ भन्ने भाव मनमा उब्जाउनु पर्छ। यहाँको वातावरण दुषित बन्दै जानुमा पसल व्यवसायी, होटेल व्यवसायी, रेष्टुरेन्ट व्यवसायी र यहा आउने पर्यटकहरुको त कदापी गल्ती देख्दिन।

गल्ती त त्यो पुलको जिम्मेवारी कसले लिएको छ ? त्यसको हो । त्यो पुलको मर्मत सम्हारको जिम्मेवारी कस्ले पाएको छ उसकै हो । त्यो पुल निर्माणमा लगानी कसले गरेको छ उसैको हो । उसो भए यो पुलको सम्पूर्ण जिम्मेवारी सरकारी निकायको हो र सरकारी निकायले लिनु पर्छ । पुल बनेपछि मान्छे आउछन र भिड वढदै जान्छ । जहां भिड हुन्छ त्यहा प्रदुषण स्वभाविक हो । त्यो भिडवाट निस्केका फोहोरजन्य वस्तुको व्यवस्थापन कसरी ? कहा?? गर्ने भन्ने अग्रिम योजना चाहि मतलव छैन ? वजेट मिलाएर ल्यायो, पुल बनायो, अनि सिध्यो ??? खै पुर्वाधार तर्फ ध्यान दिएको ???

शौचालय शुन्य प्रतिशत छ (खुल्ला मैदान र चौरमा पिसाव फेरेको देखें), पानीको व्यवस्था शुन्य प्रतिशत, एउटा धारा छैन, नियमित पानी छैन, सुरक्षा ० प्रतिशत पुलमा झुण्डेपनि, भिरमा हिडेपनि, ढुंगा हानेपनि, जे गर्दा पनि, पर्यटकिय स्थल सुहाउदो डष्टवीन छैन, ईनारमा हाल्ने रिङलाई चाङ लगाएर बनाएको दुई तीन वटा रहेछन त्यो पनि सवै भरिएर पोखेको अवस्थामा। पुलसम्म जाने वाटो शुन्य प्रतिशत, पानी परेको वेलामा पुलमा जान सम्भव छैन। पारीपटीको घना जंगलमा हुने कुकृत्यहरुको त कुरा गरी साध्य छैनन रे, के के हो के के ? भनि साध्य छैन।

लाज लाग्नु पर्दैन हामीलाई ? दैनिक रुपमा हजारौले भ्रमण गर्ने पुलको वातावरणको अवस्था देखेर लज्जित भएन तपाईहरु ? म त लज्ज्जित भए।

यता पनि ध्यान दिने कि …. ???
१. यस क्षेत्रलाई व्यवस्थित बनाउने समय तालिका बनाएर निश्चित समय अवधिका लागि त्यस क्षेत्रमा हुने क्रियाकलापहरु आझैका मितिदेखि वन्देज गरौं।
२. गाउँ गाउँमा सिंहदरवार पुगीसक्यो, अव त्यो पुलमा स्थानीय सरकार वा नगरपालीका दरिलो तरिकाले पुग्न जरुरी देखियो।
३. त्यस क्षेत्रको सुन्दर आकर्षक व्यवस्थापनको लागि भक्तपुर नगरपालीको पनि त्यतिकै महत्व र आवश्यकता छ। हातेमालो गरौं।
४. चाँगुनारायण नगरपालीका र भक्तपुर नगरपालीकाले विशेष वजेट विनियोज गरि वा अन्य कुनै क्षेत्रवाट भएपनि आर्थिक व्यवस्थापन गरी त्यस क्षेत्रलाई सुन्दर वगैंचा निर्माण गर्ने तर्फ आजैबाट सोचौं।
५. वागेश्वरी तर्फको पुलको मुख वरिपरि ५० मिटर वन फांडेर खुल्ला गरौं र प्याराफिट बनाउने तर्फ सोचौ जहां पुल चड्नेहरु पारी गएर केही समय आराम गर्नेछन र स्वच्छ हावा लिनेछन, मनलाई आनन्दित बनाउने छन्।

६. नगरकोट तर्फको पुलको मुखबाट १०० मिटर वरीपरी खुल्ला चौर व्यवसाय गर्ने कवलहरु निर्माण गरौं,
७. पुलको मुखवाट २०० मिटर तल भिरको छेउ हुँदै बलियो तार बार तुरुन्तै निर्माण गरौ दायावाया दुवै तर्फ।
८. महिला शौचालय ३ वटा र पुरुष शौचालय ३ वटा निर्माण गरौ र साथमा अपाङ्ग मैत्री पनि।
९. शौचालयबाट निस्कने फोहोरजन्य वस्तुको रिसाईकल गर्ने व्यवस्था लागु गरौ ताकि पानीको मुहानमा कुनै पनि प्रकारको फोहोर त्यस क्षेत्रवाट जान नसकुन।
१०. भक्तपुर नगरवासीले पिउने पानीको मूल मुहानदेखि ८०० मिटर माथि सम्म खोलाको दुवै साईडमा तार वार लगाऔं, खोलामा पौडी खेल्न, नुहाउन र लुगा धुन जान नसकुन।

११. पारी पटी घना जंगल हुनाले जंगली जनावरवाट सुरक्षित हुने विधिको व्यवस्था गरौं।
१२. नगरकोट तर्फको पुलको मुखवाट पूर्वतर्फ जाने सानो वाटोलाई फराकिलो बनाई छेउछेउमा तार वार लगाउने कार्य गरौं।
१३. पिचरोडदेखि पुलसम्म जाने वाटोलाई यसासक्य ध्यान दिऔं।
१४. २४ सै घण्टा सुरक्षाको व्यवस्था गरौं।
१५, पुलमा हैन तपाईहरु नगरकोटको सुन्दर वगैचामा प्रवेश गर्दै हुनुहुन्छ भन्ने पर्यटकिय सम्मानको उच्च कदर गर्दै प्रवेशको लागि तथा मर्मत सम्हारको लागि शुल्क निर्धारण गरौं।

१६. व्यवस्थित पिकनिक स्पटहरुको निर्माण गर्न तर्फ विशेष ध्यान दिऔं।
१७. पार्किङ स्थलको समस्या छ, त्यसलाई दिर्घकालीन रुपमा समाधानको उपाय अपनाऔं।
१८. २४ सै धण्टा निगरानीमा राखेर केही कार्यहरुमा कडाईका साथ लागु गराऔं जस्तै:
खोलामा नुहाउन, पौडी खेल्न, लुगा धुन, माछा मार्न, मुहान वरीपरीको केही परिधिमा घांस दाउरा काट्न, चलचित्र, गीत आदीको छायांकन गर्न, वन्यजन्तुको शिकार गर्न, आदी।

यति गर्यो भने केही हदसम्म सुधार हुने देखिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments