ललितपुर, २४ असार २०८१: ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) पुन: निर्माण गरि सञ्चालनमा ल्याएको छ। महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको उक्त धारालाई पुन: निर्माण गरेर सञ्चालनमा ल्याएको हो।
चार सय वर्ष पुरानो रहेको जरुँहिटी महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा पुनःनिर्माण गरिएको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिएका छन्। उनका अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ।
ललितपुर वडा नं ४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताए। उनले भने, “उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा समाजले नै धाराको संरक्षण गर्नेछ।”
महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका-४ जावलाखेलका स्थानीय रामकुमार पन्तले जानकारी दिए। उनले भने, “पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो। जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएको बेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ।”