काठमाडौँ, २७ असार २०८१: काठमाडौँको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ। वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनः निर्माण गर्न लागिएको हो ।
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनः निर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेकी छिन्।
तीन वर्षमा ३४ करोड ७० लाखको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उपप्रमुख डंगोलले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनः निर्माण गर्न राजनीतिकरुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएकी छिन्।
महानगरपालिका सांस्कृतिक, ऐतिहासिक, धार्मिक पक्ष जीवित राख्ने गरी यहाँका सम्पदा पुनःनिर्माणमा जुटेको उपप्रमुख डङ्गोलको भनाइ छ। राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सिंहदरबार पुनःनिर्माण गराएपछि बाँकी रहेको निर्माण सामग्रीले सत्तल बनाएको भनिए पनि कति सालमा बनाइएको भन्ने प्रमाण कतै नभेटिएको गुठी संस्थानले जनाएको छ।
करिब एक सय वर्षअघि बनेको भवन वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको थियो। गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोका भरमा अड्याइएको थियो। महानगरपालिका पर्यटन तथा संस्कृति समितिका संयोजक एवम् वडा नम्बर ८ का वडाध्यक्ष आशामान सँगतले महानगरको ठूला योजनामध्येमा पर्ने गरी भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गर्न लागिएको जानकारी दिइन्। सत्तल पुनःनिर्माण गर्न आवश्यक सामान व्यवस्थापनको काम गर्न पुरातत्व विभाग र गुठी संस्थानले गरिदिनुपर्नेमा उनको जोड छ।
महानगरपालिका-११ का वडध्यक्ष हीरालाल तण्डुकारले अहिले जस्तो छ, सत्तल त्यही स्वरुपमा पुनःनिर्माण हुने बताए। सम्पदा पुनःनिर्माणका क्रममा अवलोकन गरेर तत्कालीन समयमा जस्तो मिलेनमिलेको समयमै जानकारी गराउन उनले पुरातत्व विभागलाई आग्रह गरे।
महानगरपालिका-२२ का वडध्यक्ष चिनीकाजी महर्जनले भद्रकाली महादेवको तेस्रो आँखाको रुपमा उत्पत्ति भएको विश्वास गरिने उल्लेख गर्दै न्यूरोड क्षेत्रका पाँच सय परिवारले भद्रकाली मन्दिरको संस्कृतिलाई सुरक्षित गरिराखेको जानकारी दिए। महानगरपालिका-२१ का वडध्यक्ष उदयचुडामणि बज्राचार्य, गुठी संस्थानका सहप्रशासक बैकुण्ठप्रसाद रेग्मी, स्थानीयका तर्फबाट पुनःनिर्माण समितिका संयोजक गौतम डङ्गोल लगायतले भद्रकाली राजगुठी अन्तर्गतको मन्दिर भएको उल्लेख गर्दै आर्थिक अभाव भएकाले महानगरले पुनःनिर्माण गर्न लागेको जानकारी दिए।
पुनः निर्माणका क्रममा ती संस्था एवम् व्यापारिक कम्पनीलाई हटाउँदै जाने गुठी संस्थानले जनाएको छ । वि.सं.२०३२ मा स्थापना भएदेखि गुठी संस्थानको अभिलेख कार्यालय भद्रकालीकै भवनमा राखिएको छ । यही कार्यालयले यो सत्तलको रेखदेख गर्ने गरी जिम्मेवारी तोकिएको छ ।