निशा कुस्मा
भक्तपुर, ०२ श्रावण २०८१: सुर्यबिनायक नगरपालिका वडा नं ८का अध्यक्ष पुष्पराज बस्नेतले आफ्नो वडामा प्रत्येक वर्ष २० करोड रुपैयाँ भन्दा माथिको लागतमा भौतिक पुर्वाधार निर्माण भइरहेको जानकारी दिएका छन्। अध्यक्ष बस्नेतले आज आयोजना गरिएको दोश्रो चरणको सुनपा नमुना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिएका हुन्।
अध्यक्ष बस्नेतले भने, “सर्वप्रथम त पुर्वाधारको क्षेत्रमा आँखाले देखिने गरेर थुप्रो कार्यक्रमहरु ल्याइसकेका छौँ। हरेक वर्ष हाम्रो वडामा २० करोड भन्दा माथिका भौतिक पुर्वाधारका कार्यक्रमहरु भइरहेको छ।”
उनले रणनीतिक सडक योजना अन्तर्गत नै रहेर कार्य अगाडि बढाइएको बताए। उनका अनुसार सोही योजना अन्तर्गत रहेर घ्याम्पे डाँडा कालोपत्रे गरिसकेको, प्रशासनिक भवनसम्म जोडिने आदर्श वडा कार्यालयको केही सडक कालोपत्रे भएको छ।
उनले भने, “बाटो विस्तार र स्तर उन्नतिको लागि चुन्देवी मन्दिरसम्म बेस र सब बेसको काम सकेको छ। पिच गर्न सक्ने अवस्थाको भएको छ। आदर्श वडा कार्यालयको बाटो प्रशासनिक भवनसम्म जोडिने मुल बाटो भएकोले सके सम्म सो सडकखण्ड आफ्नै कार्यकालमा कालोपत्र गर्ने योजना रहेको छ।”
डाेलेश्वर केन्द्रित विकास
डाेलेश्वर केन्द्रित भएर बनेको जगाती झ्यालिपाती भट्टराई सडकखण्ड र डाेलेश्वर पार्किङबाट मनकामना मन्दिरतर्फ यसै वर्ष उपत्यका विकास प्राधिकरणले ४ करोड १० लाखको बजेटमा निर्माण कार्य आघी बढाइएको अध्यक्ष बस्नेतले जनाए। जगातीबाट डाेलेश्वर आउने बाटो जुन भट्टराई चोकको सडक स्तरउन्नतिको काम ९९.९९ प्रतिशत सकेको र आगामी वर्ष सडक कालोपत्र गर्ने गरि समेतेर जाने लक्ष्य रहेको उनको भनाइ छ।
डाेलेश्वर मन्दिरको प्रवेश द्वारसंगैको सामुदायिक भवन २० लाख रुपैयाँमा बनेको, मुल प्रवेश द्वार परिषर ८५ लाखमा बनेको र उत्कृष्ट रहेको भन्ने प्रतिक्रिया आएको अध्यक्ष बस्नेतले बताए। ६०:४०को लागतमा मन्दिर प्रवेश गर्ने परिषरमा ढुङ्गा छाप्ने कार्य भएको उनको भनाइ छ। उनका अनुसार सुनपाले कुल लागतको ६० प्रतिशत र मन्दिर विकास कोषबाट ४० प्रतिशतको साझेदारीमा सो कार्य सम्पन्न भएको हो।