भक्तपुर, ११ श्रावन २०८१: सौर्य जहाज दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यमा सुधार आएको छ। घाइते क्याप्टेन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट सामान्य वार्डमा सारिएको हो।
स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका अनुसार अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो।
बिहीबार साँझ क्याबिनमा सारिएको क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको अस्पतालले खुलाएको छ। अस्पतालका अनुसार शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ।
बुधबार बिहान पोखराको लागि उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा एकाएक तल खसी दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्याइएको थियो। उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गर्दा क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामै थिए।