भक्तपुर, २२ श्रावण २०८१: यस वर्ष मनसुनी वर्षाकाे जोखिममा काठमाडौं, भक्तपुर, ललितपुर लगायत बागमती प्रदेशका अन्य चार जिल्ला परेका छन्। जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको मनसुन विशेष मौसम बुलेटिन-६मा काठमाडौं उपत्यकासहित अन्य चार जिल्ला मनसुनी वर्षाकाे जोखिममा उल्लेख गरेको हो।
विभागले काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, काभ्रे, मकवानपुर, सिन्धुली जिल्ला मध्यम जोखीमको सूचीमा राखेको छ। विभागको मौसम पुर्वानुमान महाशाखाले काठमाडौं उपत्यका लगायत यी चार जिल्ला मध्यम जोखिमको सूचीमा उल्लेख गरेको छ।
बागमती प्रदेशकै रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा भने उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ।
विभागका अनुसार मिति २०८१-०४-२२ गतेदेखि मिति २०८१-०४-२३ गते सम्म भूक्षय, बाढी, पहिरो तथा गेयान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेको छ। शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले अनुरोध गरेको छ।
यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ।