निशा कुस्मा
भक्तपुर, २७ भाद्र २०८१: जिल्ला प्रशासन कार्यालयका प्रमुख रोशनी कुमारी श्रेष्ठले येंया पुन्हि थिमिया मेंय् प्वाः खनेगु जात्रा (इन्द्र जात्रको बेला थिमिको जिब्रो छेड्ने जात्रा) विश्वमा हाम्रो नगर, जिल्ला हुँदै राष्ट्रलाई चिनाउने अवसर रहेर्को बताएकी छिन्। आज मध्यपुर थिमि नगरपालिकाको सभा हालमा जात्राको तयारी सम्बन्धी छलफल गर्न रखिएको बैठकमा सो कुरा बताएकी हुन्।
सिडिओ श्रेष्ठले थिमिको मेंय् प्वाः खनेगु जात्रा( जिब्रो छेड्ने जात्रा) विश्वको कुनै पनि क्षेत्रमा नभएको र छुटै विशेषता बोकेको जात्रा रहेको बताएकी छिन्। उनले भनिन्, “यस्तो खलको जात्रा विश्वको कुनै पनि ठाउँमा नभएको र एउटा छुटै विशेषता बोकेको, धार्मिक, साँस्कृतिक महत्त्व बोकेको जात्रा हो। यो जात्राको मध्यमबाट हामीले हाम्रो नगर, हाम्रो जिल्ला, र हाम्रो देशलाई विश्वसामु चिनाउने सक्ने अवसर हो। यो अवसरलाई हामीले क्याच गर्नुपर्छ जस्तो मलाई लाग्छ।”
सिडिओ श्रेष्ठले जात्राको महत्त्व बुझेर जात्रालाई निरन्तरता दिँदै आएका बिरेन्द्र भक्त गजु श्रेष्ठ र बालक राम नानी श्रेष्ठप्रति हार्दिक आभार प्रकट गरेकी छिन्। युवा जनशक्ति जात्रा व्यवस्थापन र जोखिमबाट टाढा हुने अवस्थामा जात्रालाई निरन्तरता दिँदै उनीहरुले समाजमा एउटा उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ। “अहिलेको युवा जनशक्ति कोहि पनि जात्रा व्यवस्थापन र जोखिम लिनलाई तयार नहुने अवस्थामा यहाँहरुले उदाहरण पेश गरेको छ समाजमा”, उनले भनिन्।
जात्रा अवधिभर शान्ति सुरक्षा, सवारी व्यवस्थाप गर्न र जात्रामा अमर्यादित गतिविधि नहोस भन्ने कुरामा सचेत भएको भन्दै सिडियो श्रेष्ठले जात्रामा पशुपतिसम्म जाने टोलीलाई सहजीकरण गर्न सुरक्षा टोलीहरु खटाइ दिने जानकारी दिइन्।
मेंय् प्वाः खनेगु जात्राको लागि आवश्यक फूल र निगालो उपत्यका बाहिरबाट ल्याउन नपर्ने गरि नगरबसीहरुलाई नै उत्पादन गर्न लगाउन नगरपालिकाले पहल गर्नु पर्नेमा उनले जोड दिएकी छिन्। उनले जात्राको प्रचार प्रसारको लागि मध्यपुर थिमि नगरपलिकाले राम्रो काम गरिरहेको बताईन्।
मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले जात्रालाई व्यवस्थित गर्न कुनै पनि कमीकमजोरी नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रमुख श्रेष्ठले भने, “जात्रालाई व्यवस्थित बनाउन कुनै पनि कमी कमजोरी गर्ने छैनौं। हामी यो तपाईंहरुलाई प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ।”
प्रमुख श्रेष्ठले मेंय् प्वाः खनेगु जात्राले यस वर्ष हुने मध्यपुर महोत्सवलाई पनि धेरै ठुलो टेवा पुग्ने बताएका छन्। मेंय् प्वाः खनेगु जात्रा बोदेमा मात्र नभई थिमिमा पनि हुन्छ भन्ने कुरा कमै मात्र काठमाडौँबासीलाई थाहा भएको जानकारी दिँदै प्रचारप्रसारको लागि राष्ट्रिय प्रशारण क्षेत्रका टोलीहरुलाई पनि आमन्त्रण गर्ने बताए।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले सम्पदाको संरक्षण र समाज सुरक्षित बनाउनको लागि मेंय् प्वाः खनेगु जात्रा गरिएको बताएका छन्। उनले आफ्नो दैनिकी जीवनको व्यस्तताका बाबजुद पनि यस वर्ष मेंय् प्वाः खनेगु जात्रालाई निरन्तरता दिने बिरेन्द्र भक्त गजु श्रेष्ठलाई जात्राको शुभकामना दिँदै यस्तो जात्रालाई प्राथिमिकताका साथ प्रचार पर्सा गर्न आग्रह गरे।
उपप्रमुख श्रेष्ठले जात्राको लागि आवश्यक सहयोगहरु नगरपालिकाबाट गर्ने बताए। उनले भने, “मध्यपुर थिमि नगरपालिकाबाट गर्नु पर्ने सहयोग हुन्छ नै। त्यसमा कुनै कन्जुस्याई हुँदैन। हाम्रो तर्फाबाट विगतमा पनि सहायो भएकै हो। यो हाम्रो सम्पदा हो। त्यसैले हामी अवश्य पनि सहयोग गर्छौं।”
उनले विगतको “बालक रामसंग हिडौं अभियान”को स्मरण गर्दै यस वर्षको जात्रा सव्य र भव्य बनाउन यस वर्ष “बिरेन्द्रसंग हिडौं” भन्ने अभियानलाई आगाडी बढाउने बताएका छन्।
यस्तो छ येंया पुन्हि थिमिया मेंय् प्वाः खनेगु जात्राको इतिहास
नेपाल मण्डलको मानविय सुसंस्कृत बस्तिको रुपमा प्रख्यात तीन शहरहरु काठमाडौं, ललितपुर र भक्तपुरको मध्य भागमा अवस्थित ऐतिहाँसिक तथा साँस्कृतिक रुपमा परिचित नगरको नाम हो, मध्यपुर थिमि। यस नगरमा अझ अरु नगरहरुमा जस्तै आफ्नो मौलिक पहिचान बनाउँन विभिन्न रिति रिवाज, चालचलन, भेष भुषा, लवाई खवाई र साँस्कृतिक पहिचानले मानव बस्तिको भौगोलिक अवस्था अनुसार चाँड पर्व जात्रा आदि एकिकृत गरी साँस्कृतिक रुपमा यस नगर भिन्नै प्रकारको मौलिक ढाँचामा लयबद्ध रुपमा सञ्चालित गथा मुगः चहे, गुन्पुन्हि (जनै पूर्णिमा), सापारु (गाईजात्रा), जुगः चहे, गैल प्याखं (भैरव नाच), निलबाराही गण प्याखं, पुलु किसि, महाँकालि प्याखं, लुसि प्याखं, विस्का जात्रा (भुयुसिन्ह जात्रा), खाँ पिहावय्गु जात्रा (खड्क जात्रा) आदि जात्रा पर्वहरुलाई मानव उन्मुक्तिको उत्सवको रुपमा सञ्चालित हुँदै आएको छ। जात्रा, पर्व र चाँडहरु किन, कसरी र कसको व्यवस्थापनमा सञ्चालन भए भन्नेबारे हामीले युग सुहाउँदो ढंगले अध्ययन अनुसन्धान गर्दै लोपन्मुख जात्राहरुलाई निरन्तरता गर्नु आजको आवश्यकता हो। माथि उल्लेखित जात्रा पर्वहरु मध्ये जिवन्त रुपमा परिचित मानव संवेदनशील अंग मध्येको एक जिब्रो (गेंय्) मा कम्तिमा १० इन्चको फलामको सुईरो (नातु) ले छेडि मनाउँने जिब्रो छेड्ने जात्रा पौराणिक कालदेखि चल्दै आएको हामीमा सर्बबिदितै छ।
परिवेश र परिस्थितिलाई मध्ये नजरमा राखि मानविय श्रमबाट मुक्त अवस्थालाई मनोरञ्जन दिई मानव बस्तिमा आई पर्ने दैविक तथा प्राकृतिक विपत्तिलाई पन्छाउँने उदेश्य अनुरुप यस जात्रा चलि आएको पौराणिक कथन रहिआएको छ। पौराणिक कथन अनुसार परापूर्वकालमा मध्यपुर थिमिका स्थानिय बासिन्दाहरुमा विभिन्न खालका रोग, डर र भयले त्रसित बनाई दिई भयभित मानविय मनलाई शान्ति दिलाई सुख चयनले बाच्न दिने अभिप्रायले कल्याणी भाव भएका एक महान मानवले आराध्यदेवी श्री ३ बालकुमारी माईको साधना गरी वहाँको दिव्य उपदेशलाई मनन गरी थिमि बासीहरुको साथ सहयोग लिई भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक निर्भिक व्यक्तिलाई कम्तिमा १० इन्चको फलामको सियो (नातु) ले जिब्रो छेडर मेंय् प्वाः खना (जिब्रो छेहि) नगर परिक्रमा गराईयो। ती साहसिक व्यक्तिले आफ्नो पिडालाई वास्ता नगरी थिमि भेगको मात्र होईन आफ्नो बस्ति आसपासमा पनि भूत प्रेत र पिचास होलान् र तिनीहरुलाई पनि भगाउनु पर्छ नत्र बाहिरको त्यस्ता भूतप्रेत पिचास रुपि तत्वहरुले फेरि पनि दुःख देला भनि सोचे र चाँगुनारायण, गुहेश्वरी, पशुपतिनाथ मन्दिर आदि स्थानहरुमा (ज्ये) महादिप तथा आकाशदिप (याँ मत) अगाडि पछाडी लिई घुमेर यस नगर क्षेत्रको मानव मललाई शान्तिको महशुस दिलाई चयनका साथ बस्न लगाएको, बस्तिमा सुरक्षा र सहकाल आएको आम जनधारणा छ।
यस ऐतिहाँसिक जात्रा वि. सं. २०२६ साल देखि लुप्त भईसकेको अवस्थालाई पुनः सञ्चालन गर्न वि.सं. २०५० सालमा मध्यपुर थिमि चोडे टोल निवासी श्री कृष्ण नानी श्रेष्ठ ज्यूले ३ पटक (वि.सं.२०५०, २०५७ र २०६३) जिब्रो छेडेर मेंय् प्वाः खना जात्रालाई जिवन्त प्रदान गरे। यस जिब्रो छेड्ने जात्राका कममा थुप्रै व्यक्तिहरुलाई भोज खुवाउँनु पर्ने तथा जात्राको प्रवन्ध पनि आफै मिलाउन पर्ने भएकोले थुप्रै आर्थिक रकमको आवश्यकता पर्दछ। आफ्नो जिब्रो पनि छेडाउँनु अनि जात्रा खर्च पनि आफै मिलाउन पर्ने जस्ता विविध समस्याले गर्दा विगत वि.सं. २०६३ साल देखि सञ्चालन हुन नसकेको जात्रा वि.सं. २०७४ सालबाट स्थानीय युवाहरु, संस्कृति प्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रतिनिधीहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने गरी मध्यपुर नगरपालिकाको आर्थिक सहयोगमा मध्यपुर थिमि वडा नं. ८ बालकुमारी निवासी श्री बिरेन्द्र भक्त गजु श्रेष्ठ ज्यूले जिब्रो छेडेर (मैय् प्वाः सना) लोपन्मुख जात्रालाई निरन्तरता दिएका थिए।
यसरी प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन साँझ मध्यपुर थिमि वडा नं. ५ दिगु टोल स्थित दिगु भैरब मन्दिर (प्रचण्ड भैरब) अगाडिको डबलीमा जिब्रो छेडाउने गरिन्छ। जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडी देखि नै तयारी गर्नुपर्ने हुन्छ। जिब्रो छेड्ने सुईरो नातु बनाउँनका लागि करिब एक महिना अगाडी सुईरो नातु बनाउँने नकर्मीलाई खबर गर्न जानु पर्दछ। सुईरो नातु बनाउन खबर गर्न जाँदा पूजा सामाग्री, तोरीको तेल, कपास, रातो भाले, समेबजि सहित नकर्मीको घरमा पूजा दिईने गरिन्छ। नकर्मीले (नातु) सुईरो बनाईसकेपछि फलामको सुईरो भएकोले खिया नलागोस भनि ३ हप्ता जति शद्ध तोरीको तेलमा (नातु) सुईरोलाई डुबाएर राखेको हुन्छ। यस जात्रामा तीनवटा (सियो) सुईरोलाई माथिको भाग एउटै बिन्दु बनाई तलको भाग जिब्रोमा छेड्न तीनवटा सुईरो बनाएको हुन्छ। यस जिब्रो छेड्ने जात्रा हुन ८ आठ दिन अगाडिबाट गुरुहरु सम्मिलित भएर बिभिन्न किसिम र तरिकाबाट पूजाहरु शुरु हुन थाल्छ। यस जात्रामा पूजा सम्बन्धी कार्य थिमिका जामनः थर भएका गरुबाट हुने तथा जिब्रो छेड्न थिमिका कःमि थरका कःमि नायोको हातबाट फलामको सियो (सुईरो) नातुले जिब्रो छेडिन्छ। साथै जात्रामा जिब्रो छेडी परिक्रमा गर्ने कममा जिब्रो छेड्ने व्यक्तिको अगाडी पछाडी याँ मतः बाली बाटो पहिल्याउन थिमिका थाथु सा र कोथु सा का मानन्धर समुदायको पनि विषेश भुमिका हुन्छ।
मध्यपुर थिमिको येंया पुन्हिको जिब्रो छेड्ने जात्रा लाल मोहर भएका सरकारी सहयोग तथा मान्यता प्राप्त जात्रा हो। जिब्रो छेडाउँदा राजदरवार स्रोतको सहभागिता समेत भएको देखिन्छ। जिब्रो छेड्ने जात्राको अघि थिमिको लाय्कुका पःमा (तत्कालिन राज्य संचालक) हरुले अहिले पनि हनुमानढोका दरवारमा गएर राजखड्ग लिएर सिद्धिकाली मन्दिर परिसरबाट बाजा गाजा सहित नगर परिक्रमा गरी जिब्रो छेड्ने दिन पःमा आफैले बोकी डबलीमा राखेको हुन्छ। पहिला पहिला यो जिब्रो छेड्ने जात्रा मध्यपुर थिमि स्थित लाय्कु दरबार भित्र रहेका पःमा (तत्कालिन राज्य संचालक) हरुबाट बि.सं.२०२६ सम्म, सञ्चालित भएको हाल पनि यसका जानकारहरु बताउँछन्।