Homeसमाचारअभियन्ता बताउने आशिका तामाङविरुद्ध प्रहरीमा जोहरी दर्ता

अभियन्ता बताउने आशिका तामाङविरुद्ध प्रहरीमा जोहरी दर्ता

भक्तपुर, ९ असोज २०८१: गत सोमबार साँगाको शिव मन्दीर जाने झोलुङ्गे पुलमा टिकट काउण्टर तोडफोड गरिएको भिडियो सार्वजनिक गरिएको थियो। उक्त भिडियोमा अभियन्ता बताउने आशिका तामाङले गणतन्त्रको बेलामा सार्वजनिक झोलुङ्गे पुलमा टिकट शुल्क लिएको भन्दै आक्रोश पोखेकी छिन्।

सोहि तामाङविरुद्ध कानूनी कारवाही गर्न सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा मंगलवार जाहेरी दिएको छ। सूर्यविनायक नगरपालिकाको वडा नं. ९ र १० को बीचमा रहेको साँगाको झोलुङ्गे पुलमा रहेको टिकट काउण्टर तोडफोड गरी टिकट कब्जामा लिई आगजनी गरेको र गाली बेइज्जती गरेको आरोप नगरपालिकाको छ ।

सोही घटनाको विषयलाई लिएर सूर्यविनायक नगरकार्यपालिकाको मंगलवार बसेको आकस्मिक बैठकले तामाङविरुद्ध कानूनी कारवाहीमा जाने निर्णय गरेको नगरप्रवक्ता एवम् वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए। सो निर्णय बमोजिम तामाङलाई हदैसम्मको सजाय माग गर्दै प्रहरी वृत्तमा जाहेरी दिएको प्रवक्ता सापकोटाले बताए।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको साँगाको पुल ठेक्कामा लगाई उठेको राजश्व सोही क्षेत्रको विकासमा खर्च गर्ने योजना अनुसार कार्य भइरहेको उनको दावी छ। उनले सो क्षेत्रमा हाल सार्वजनिक शौचालयलगायतका अन्य पूर्वाधार निर्माण भइरहेको जानकारी दिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गरी उक्त पुल ठेक्का लगाएको जनाए। उनले स्थानीय वडा नं. ९ र १० का जनतालाई निःशुल्क, सूर्यविनायक नगरपालिकाका अन्य वडाका बासिन्दालाई ५० प्रतिशत छुटको व्यवस्था गरी प्रति व्यक्ति एक पटकलाई रु २० लिने गरी ठेक्का लगाएको समेत जानकारी दिए।

नगरप्रमुख बासुदेव थापाले निज तामाङलाई सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, गाली बेइज्जती लगायतमा कानूनी कारवाहीको माग गर्दै जाहेरी दिएको जनाए। उनले भने, “यो अराजक गतिविधि हो। सार्वजनिक रुपमा केही गुनासा भए नगरपालिकामा आएर राख्न सक्नुहुन्छ। यसरी तोडफोड आगजनी हुँदा सह्य हुँदैन। यस्ता अराजक गतिविधिलाई बेलैमा नियन्त्रण गर्नुपर्ने महशुस गरी कानूनी उपचारमा जाने निर्णय गरिएको हो।”

साँगाको उक्त झोलुङ्गे पुल स्थानीय पूर्वाधार विभागले आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का गरी एक वर्षमा निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले आ.व. २०७९/८० मा ३५ लाख रुपैंयामा रविचन्द्र कन्स्ट्रक्सन प्रा.लि.लाई उक्त पुलको शुल्क उठाउने ठेक्का दिएको थियो। यसवर्ष ३९ लाख ५५ हजार ५५५ रुपैंयामा त्रिशुल इन्टरनेशनल प्रा.लि.ले ठेक्का पाएको नगरपालिकाले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments