Homeसमाचारमहोत्सब लक्षित मेलाका ८० प्रतिशत स्टलहरु भयो बुकिङ

महोत्सब लक्षित मेलाका ८० प्रतिशत स्टलहरु भयो बुकिङ

भक्तपुर महोत्सबलाई लक्षित परेर आयोजना गरिने व्यापार मेलाका ८० प्रतिशत स्टलहरु बुकिङ भइसकेको छ । बुधबार एक पत्रकार सम्मेलन आयोजना गरि मेलाका आयोजकले सो जानकारी दिएका हुन् ।

यही मंसिर २८ गते पुस २ गतेसम्म हुने पाँच दिन भक्तपुर महोत्सव २०८१ को क्रममा भक्तपुरको महेश्वरी खेल मैदानमा व्यापार मेला पनि हुँदै छ । आयोजक समितिका सचिव रामेश्वर मचामसीले व्यापार मेलामा झण्डै एक सय स्टलहरु रहने छन् । तीमध्ये ८० प्रतिशत अर्थात् ८० स्टलहरु अगाडि नै बुकिङ भइसकेको जानकारी उनले गराए ।

”अब हामीसँग सिमित सिट मात्रै बाँकी छन्”, उनले भने, ”स्टलको साइजअनुसार न्यून शुल्क लिएर व्यापारीहरुलाई स्टल उपलब्ध गराइने छ
।” व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विविभन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुने छन् ।

त्यसैगरी महोत्सवमा विक्री हुने सामानहरु विशेष छुटमा हुने जनाइयो । मनोरञ्जनका लागि महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, मिकी माउस, ट्रेम्पालिङ, स्करपियो आदिका साथमा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिनदिनै रहने जनाइयो । महोत्सवमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, काभ्रे लगायत विभिन्न जिल्लाका वासिन्दाहरुले समेत लाभ लिन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भए पनि उपयुक्तता अनि आवश्यकता अनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको जनाए । त्यस अनुसार महेश्वरी खेल मैदान भक्तपुर नगरपालिका वडा नं ७ मा परेकाले महेश्वरीमा हुने व्यापार मेलाको संयोजन वडास्थित भक्तपुर युवा टिम गोल्मढी भक्तपुरलाई दिएको उनले स्पष्ट पारे । त्यस अनुसार टिमले तयारी तीव्र पारेको उनले जनाए ।

मेलाको सम्पूर्ण खर्च र आम्दानी आयोजक टिम भक्तपुर युवा टिमले नै गर्ने जनाइएको छ । आयोजक टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले भक्तपुर युवा टिमले व्यापार मेला आयोजकको रुपमा जिम्मेवारी वहन गर्ने मौका पाएकोमा गर्वको महशुश गरे । उनले यसका लागि आवश्यक प्रक्रिया पूरा गरी सकिएको जानकारी पनि गराए ।

पत्रकार सम्मेलनको सञ्चालन आयोजक भक्तपुर युवा टिमका कार्यसमिति सदस्य सुरेश कवांले गरेका थिए । २०५४ सालपछि भक्तपुरले व्यापाक रुपमा दोश्रो पटक भक्तपुर महोत्सव गर्न लागेको हो । महोत्सव अन्तर्गत भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडावडा टोलटोलहरु महोत्सवमय हुने जनाइएको छ । यसका लागि नगरका ३२ ठाउँहरुमा आकर्षण रहने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments