मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर महोत्सवमा निःशुल्क यातायात संचालन गरिने जानकारी दिएका छन् । प्रमुख श्रेष्ठले शुक्रबार नेपाल प्रेस सोसाइटीले आयोजना गरिएको मध्यपुर महोत्सव विशेष अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएका हुन् ।
मध्यपुर महोत्सवका संयोजक समेत रहनु भएका श्रेष्ठले महोत्सव अवधिभरका लागि १५/२० वटा गाडी निस्शुल्क संचालन गरिने जनाए । उनले भने, “महोत्सवमा १५/२० वटा फ्री भेहिकलको व्यवस्था गरेका छौं । साढे पाँच किलोमिटरको क्षेत्रमा संचालन हुने महोत्सव अवलोकन गर्न सहज होस् भन्ने हेतुले निःशुल्क यातायातको व्यवस्था गरिएको हो । र यो गाडीले महोत्सव क्षेत्रमा निःशुल्क रुपमा संचालन गर्ने व्यवस्था गरेका छौं ।”
महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको नगर प्रमुख श्रेष्ठले बताए । उनका अनुसार नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने र समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने वस्तुगत उद्देश्य रहेको छ ।
थिमि शंखधरचोक देखि नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई महोत्सव प्रदर्शनी स्थलको रूपमा प्रस्तुत गरिनेछ । जहाँ करिव करिव ७५ स्थानमा विभिन्न कार्यक्रमहरु भइरहन्छन । यसको व्यवस्थापनको लागि टोल टोलमा सघसंस्थाहरुलाई जिम्मेवारी प्रदान गरिने उनको भनाइ छ ।
टिगनी बजी (चिउरा)लाई जीवन्तता दिने
मध्यपुरको टिगनीको परम्परागत शैलीमा चिउरा कुट्ने प्रविधि र उत्पादनलाई जीवन्तता प्रधान गरिने नगर प्रमुख श्रेष्ठले जनाए । विगत ३५ वर्ष देखि लोप भएको टिगनी बजीको इतिहास किताबमा मात्रै सिमित भएको उल्लेख गर्दै उनले यस महोत्सव मार्फत टिगनी बजीको पुस्तान्तरण गरिने जनाए ।
टिगनी बाजीको उत्पादन विधि सहित महोत्सवमा प्रदर्शनी गरिने र त्यसलाई जीवन्तता समेत प्रदान गरिने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
उनले भने, ”युवा पुस्तामा यो परम्परालाई पुस्तान्तरण गर्न यस महोतास्वमा पदार्शानी गरिने र उत्पादन गरिने छ । त्यसको लागि आवश्यक पुराना औजारहरुको खोजीनिती गरेर मर्मत कार्यलाई अघि बढाएका छौं ।”
टिगनीमा परम्परागत शैलीमा चिउरा कुट्ने, बोदे र दिगुलीमा जिब्रो छेडेने जात्राको डमी प्रदर्शन, दिग्लीमा ५ फिट अग्लीको माटोको सुकुन्दा प्रदर्शनी, दिगुलीमा माटोको हिटरको ढोका निर्माण, नेवारी संस्कृक्तिमा जन्मदेखी मृत्यु र विभिन्न चाडपर्व र अवसरमा खाने भोजको परिकार प्रदर्शन, बालकुमारीमा गेडागुडीको प्रदर्शन, बुद्धको अस्तुधातु, लिच्छवीकालदेखीको मुद्रा प्रदर्शनी र दैनिक जीवनमा प्रयोग हुने माटोका भाँडाकुँडाको जीवन्त प्रदर्शनी क्षेत्र एवम् सम्पदाहरु महोत्सवका प्रमुख आकर्षणको रुपमा रहेको उनले जानकारी दिए ।