१५ चैत्र, काठमाडौं ।
गणतन्त्र र राजतन्त्रको वकालत गर्दै काठमाडौंमा एकैदिन दुई प्रदर्शन भइरहेका छन् । राजधानीको भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपाकाे समाजवादी केन्द्रकाे आयाेजनामा गणतन्त्रको पक्षमा र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका छन् । दुई फरक आन्दाेलनमा गणतन्त्रवादी आन्दाेलन शान्त र शिष्ट तरिकामा भइरहेका छन् भने राजतन्त्रवादी आन्दाेलन निकै उग्र र आक्रामक रूपमा भइरहेकाे छ।
राजावादी समूहले शुक्रबार राजधानीको तिनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो । प्रदर्शनकारीहरूले सर्वसाधारणको घरमा समेत तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । साथै आगाे निभाउन हिँडेकाे दमकल माथि पनि ढुंगा प्रहार गरेका छन् । तीनकुनेमा प्रदर्शकारीद्वारा ट्याक्सी लगायतकाे सवारी साधन फुटाएकाे तथा घाटीमा लगाएकाे सुनकाे सिक्री समेत लुटेकाे भिडियाेहरू सामाजिक सञ्जालमा भाइरल भएकाे छ । उता गणतन्त्रवादी आन्दोलनमा भने आन्दोलनकारीहरू सरसफाइ समेत गर्दै आएकाे देखिन्छ।