बैशाख १५, मध्यपुर थिमि ।
मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नो १७औं स्थापना दिवसकाे अवसरमा मध्यपुर ब्लड बैंक संचालनमा ल्याएकाे छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले ब्लड बैंककाे उद्घाटन गर्दै अस्पतालको उल्लेखनीय प्रगति गरेकाेमा प्रशंसा गरेकाे छ । देशभरका विशिष्ट अस्पतालहरूमा समेत उपलब्ध नभएका CTscan र डायलाइसिस सेवाजस्ता उच्चस्तरीय सेवा विस्तार गरेकोमा मन्त्री पाैडेलले खुशी व्यक्त गरेका थिए। शहरी क्षेत्रमा नयाँ विशिष्ट अस्पताल निर्माण गर्नु आवश्यक नभई, विद्यमान अस्पतालहरूको पूर्वाधार सुदृढ गर्दै सेवा प्रवाहलाई विस्तार गर्नुपर्ने धारणा राखेका छन् । साथै, देशभरका ६४४३ वटै स्थानीय तहहरूमा आधारभूत स्वास्थ्य केन्द्र विस्तार गर्दै रिफरल सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। स्वास्थ्य बीमासम्बन्धी समस्यामा मन्त्री पौडेलले विमाकोषको आम्दानी वार्षिक १.५ अर्ब मात्र भए तापनि दाबी १६ अर्बभन्दा बढी भएकाले हाल समस्या उत्पन्न भएको र अब विमाको मोडल परिवर्तन गर्दै आम्दानी बढाउने र नेपाल सरकारले नियमित अनुदान उपलब्ध गराउने नीति लिनुपर्ने बताए।
मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको विवरण प्रस्तुत गर्दै, अस्पतालको विकास यात्रामा नगरपालिकाको सहकार्यता सदैव रहने प्रतिबद्धता व्यक्त गरेका थिए । नगरप्रमुख श्रेष्ठले ब्लड बैंक सेवा एक महिनाभित्र पूर्ण रूपमा नियमित सञ्चालनमा आउने बताए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज दिलीप कुमार प्रजापतिले अस्पतालको सेवा गुणस्तरीय भएको उल्लेख गर्दै, मध्यपुर थिमि नगरपालिका मात्र नभई मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लाका जनताले समेत यहाँबाट सहज सेवा लिएको बताए।
अस्पतालका मेडिकल डाइरेक्टर डा. डिके रोशनले आर्थिक तथा सेवा प्रवाहको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गर्दै अस्पताल अहिले तलब भुक्तानी सहजरुपमा गर्न सक्ने अवस्थामा रहेको र विगतको चुनौतीभन्दा स्थिति धेरै सुधारिएको उल्लेख गरेका थिए ।
नेपाली कांग्रेसका नगर सभापति हरिदास प्रजापतिले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ स्वास्थ्य सम्बन्धी समस्याका कारण सहभागी नभएकाे जानकारी गराएकाे थियाे । कार्यक्रम कै क्रममा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।