Homeबिज्ञान/प्रबिधीनयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छः मन्त्री शर्मा

नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छः मन्त्री शर्मा

भक्तपुर, १२ माघ २०८०: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताएकी छन्। पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २० औं लोकस प्राविधिक महोत्सव उद्घाटन गर्दै उनले अब पुरानो पुस्ताले गर्न सकेन भनेर आलोचना गरेर बस्नेभन्दा पनि नयाँ पुस्ताले हामी देश बनाउँछौं भनेर संकल्प गर्ने बेला आएको बताएकी हुन्।

‘अहिलेको पुस्ताले पुरानो पुस्ताको जस्तो दुःख नभोगेको पनि नेपालको इतिहास पक्कै पढेको छ। सबै जनताका छोराछोरीले पढ्न लेख्न नपाउने, शासकहरुले गर्ने जस्तोसुकै अत्याचार पनि सहेर बस्नुपर्ने, उनीहरुसँग आँखा जुधाएर प्रश्न गर्न नपाउने, महिला, दलित, जनजाति, मधेशीजस्ता उत्पीडित समुदायलाई नागरिक नै नठान्ने जुन राजनीतिक व्यवस्था थियो, हामीले लामो संघर्ष गरेर, हजारौं हजार जनताका छोराछोरीले रगत बगाएर त्यसखाले व्यवस्थाको अन्त्य गरेका छौं’, उनले भनी, ‘आज हामी सबै जनता बराबर हुने संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। पुरानो पुस्ताले लडेर यो परिवर्तन नल्याइदिएको भए आज पनि हामी पुरानै कालरात्रीमा रहने थियौं।’

मंत्री शर्माले अध्ययन अनुसन्धानका सिलसिलामा विश्वका जुनसुकै देशमा गए पनि जन्म दिने माटो र आफू हिडेको बाटोलाई कहिल्यै नबिर्स र त्यसरी प्राप्त गरेको विज्ञता देशका लागि प्रयोग विद्यार्थीहरुलाई आग्रह गरेकी छन्। ‘अब पुरानो पुस्ताको योगदानको उचित सम्मान गर्दै देश बनाउने जिम्मा नयाँ पुस्ताले लिनुपर्छ । त्यसमा पनि अझै आजको सूचना प्रविधिको युगमा प्राविधिक जनशक्तिले नै देश बनाउने कामको अगुवाई गर्नुपर्छ । त्यसका लागि तपाइँ नयाँ पुस्ताले समृद्ध नेपालको सपना देख्नुपर्छ’, मन्त्री शर्माले थपी।

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै भयो भन्ने नयाँ पुस्ताको गुनासोलाई मध्यनजर गरी इतिहासमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट नेतृत्व चयनको प्रक्रिया थालनी गरिएको जानकारी दिंदै उनले अब यसरी नै सबै विश्वविद्यालय र विद्यालयहरुमा पहुँच होइन, योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिंदै जानुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए।

‘सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको मुख्य कार्यदिशा अंगिकार गरेर हरेक क्षेत्रमा रुपान्तरणकारी योजना अघि बढाउन खोजिरहेको छ, त्यसमा तपाइँहरुको साथ र सहयोग चाहिएको छ’, मन्त्री शर्माले भनी, ‘फेरि पनि दोहोर्याउन चाहन्छु, अब देश बनाउने नयाँ पुस्ताले हो, तपाइँहरु हरेक जनाले म यो देशको सफल नेतृत्व गर्न सक्छु भन्ने सपना देख्नुपर्छ।’

विश्वमा एकपछि अर्को सूचना प्रविधिको विकास भइरहेको बेला अब यसबाट भागेर होइन, यसको उचित प्रयोग र आवश्यक विकास गरेर मात्रै देशलाई अघि बढाउन सकिने विश्वास व्यक्त गर्दै उनले अब मुलुक डिजिटल रुपान्तरणविना कुनै पनि क्षेत्रमा अगाडि बढ्न नसक्ने नि स्पष्ट पारी।

मन्त्री शर्माले भनी, ‘सबै क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर डिजिटल नेपाल निर्माण गर्ने र त्यसमार्फत नै जनताको दैनिक जीवनलाई सहज बनाउँदै समृद्धिको बाटोमा अघि बढ्नसक्ने छौं। डिजिटल नेपाल निर्माणका लागि डिजिटल पूर्वाधार र त्यसलाई परिचालन गर्ने आवश्यक जनशक्तिको विकास गर्नु आजको हाम्रो प्राथमिकता हो।’

पछिल्लो समय विकसित रोबोटिक्स, एआई, आइओटी, ब्लकचेन जस्ता नवीनतम क्षेत्रमा पनि राज्यको स्पष्ट धारणा निर्माण गर्ने र ती सबै प्रविधिलाई मुलुक र नागरिकको हितमा प्रयोग गर्ने सवालमा योजना बनाउन अब ढिलाई गर्न नहुने स्पष्ट गर्दै मंत्री शर्माले नेपालको आफ्नै स्याटेलाइट हुनुपर्छ भन्ने सरकारको मान्यता रहेको बताएकी छन्।

सञ्चार तथा सूचना प्रविधिमा आफ्नै देशको माटो सुहाउने अध्ययन अनुसन्धान आवश्यक रहेको औल्याउँदै उनले यसमा सहयोग पुर्याउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरण र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकबीच सूचना प्रविधि एक्सिलेन्स सेन्टर स्थापना गर्ने सहमति भई कार्य अगाडि बढिसकेको र सातै प्रदेशमा यस्ता एक्सिलेन्स सेन्टर स्थापना गर्ने सरकारको लक्ष्य रहेको जनाए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments