भक्तपुर, १४ फागुन २०८०: सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारीले माछापालनबाट मासिक डेढ लाख आम्दानी गर्ने बताएका छन्। करिब तीन वर्ष वैदेशिक रोजगारीमा पसिना बगाएका स्वदेशमा माछापालन गर्दै आएका उनले यस्तो बताएका हुन्।
विदेशमा बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिने उनको भनाइ छ। “जागिरको खोजीमा म विदेश जान्नँ। एकपटक अञ्जानमा विदेश गइयो। विदेश के रहेछ र त्यहाँको दुःख के हो भन्ने बुझ्नै मौका पनि मिल्यो”, उनले भने, “अहिले स्वदेशमै पुग्दो छ।” उहाँ माछापालनबाट मासिक सबै खर्च कटाएर रू. एक लाख ५० हजार बचत भइरहेको छ। दैनिक औसतमा रू. १५ हजारको कारोबार हुन्छ। त्यसबाट रु. पाँच हजार जति बचत हुन्छ।”
सोलुदुधकुण्ड नगरपालिका ४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछापालन गर्दै आएका उनीसंग अहिले ४० हजारभन्दा बढी माछाका भुरा छन्। उनले माछापालनका लागि दश वटा पोखरी निर्माण गरेका छन्।
“विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिएँ। कमाइ पनि ठिकै थियो। कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयो”, उनले भने, “सबै काम ठप्प भएपछि माछापालनको योजना बनाएको हुँ।” सुरुमा माछापालनको योजना सुनाउँदा धेरैले हुँदैन भन्ने गरे पनि अहिले माछापालनबाट आम्दानी हुन थालेपछि भने प्रशंसा गर्ने गरेको उनले सुनाए। “सोलु जस्तै चिसो ठाउँमा माछापालन हुन्न भन्ने धेरै थिए”, उनले भने।