भक्तपुर, १६ चैत्र २०८०: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आह्वान गरेकी छन्। नेपाल-इटाली चेम्बर अफ कमर्शको दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो आह्वान गरेकी हुन्।
उनलेे नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण गरेको पनि स्पष्ट पारेका छन्। ‘हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौं’ मन्त्री शर्माले भने- ‘नागरिक र राज्यका डाटा सुरक्षालगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा बैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौं।’
लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा बैदेशिक लगानीको सीमा हटाएको, दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको उनलेे जनाए। अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आईटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको उनको भनाइ छ।
‘सरकारी तवरबाट संख्या एकिन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आइटी जनशक्तिले देशभित्रै बसेर सिप र सेवा विभिन्न मुलुकमा निर्यात गररहेको अवस्था छ’, उनलेे भने, ‘लगानीमैत्री नीति र कानुन तथा दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु।’
मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल-इटाली चेम्बर अफ कमर्शलाई आग्रह गरेकी हुन्। ‘यहाँहरु जानकार नै हुनुहुन्छ, सरकार लगानी सम्मेलनको तयारीमा छ। अबको एक महिनापछि नेपालमा चौथो लगानी सम्मेलन हुँदैछ’, उनलेे थपे, ‘यसमा धेरै भन्दा धेरै इटालीका लगानीकर्ताहरुलाई आकर्षित गरेर लगानी वृद्धिको वातावरण सिर्जना गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने सरकारको विश्वास रहेको छ।’
लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुनहरु तत्काल संशोधन गर्ने तयारी रहेको पनि मन्त्री शर्माले जानकारी दिए।
सन् १९५९ अगस्ट ३१ मा नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीचको सम्बन्ध निरन्तर सुमधुर रहँदै आएको स्मरण गराउँदै उनलेे भूकम्पपछि इटालीले प्रदान गरेको सहायता र विशेषगरी सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा पुर्याएको योगदानप्रति नेपाल सधैं आभारी रहने तथा यो सहयोग दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने विश्वास पनि व्यक्ति गरे।
उनलेे भने, ‘लगानीमैत्री नीति र कानुन तथा दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु ।’