स्वास्थ्य क्षेत्रमा मध्यपुर थिमि

मध्यपुर थिमि नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ल्यायो ठुला परिवर्तन,

मध्यपुर थिमि नगरपालिका, भक्तपुर ।
निर्वाचनपछिको छोटो अवधिमै मध्यपुर थिमि नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उपप्रमुख विजय कृष्ण श्रेष्ठले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत स्वास्थ्य क्षेत्रमा भएका प्रमुख परिवर्तनहरूको समीक्षा गर्दै जनतालाई जानकारी दिएको छ।

नगरप्रमुख,उपप्रमुख तथा जनप्रतिनिधिहरूको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिहरूलाई विगत र वर्तमानसँग तुलना गर्दै प्रस्तुत गरिएको यस जानकारीमा, नगरवासीले प्रत्यक्ष अनुभूत गर्ने खालका कार्यक्रम र सेवा विस्तारलाई प्रमुखता दिइएको छ।

मध्यपुर थिमि नगरपालिकाले आफू निर्वाचित भएपछी नगरपालिकामा स्वास्थ्य क्षेत्रमा ल्याएको परिवर्तनका विषयमा आफ्नो फेसबुक पेज मार्फत सामाजिक संजालमा जनताको लागि भनेर प्रकाशित गरेको छ । जसको जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।
हाम्रो नगरका आदरणीय आमावुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा,​नमस्कार!

​हामीले चुनावका समयमा गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्दै, स्वास्थ्य क्षेत्रमा ल्याएका केही महत्वपूर्ण परिवर्तनहरू तपाईंहरू समक्ष प्रस्तुत गर्न पाउँदा मलाई गर्व लागेको छ। हामीले विगतलाई वर्तमानसँग जोडेर हेर्दा, केही सकारात्मक परिवर्तन भएको अनुभूति भएको छ, र यो सबै तपाईँहरूको साथ र सहयोगले सम्भव भएको हो।
​आज यस अंकमा, हामीले मध्यपुर थिमि नगरपालिकाको नेतृत्वमा रहेर स्वास्थ्य क्षेत्रमा गरेका मुख्य केही कामहरूको समीक्षा गर्दैछौं। यसलाई हाम्रो उपलब्धिका रूपमा मात्र नभएर, थप सुधारका लागि तपाईँहरूको अमूल्य सल्लाह र सुझावको अपेक्षा सहित प्रस्तुत गरेका छौं।

​स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिहरू:

​हाम्रो नगरपालिकाको सबैभन्दा ठूलो गौरव नगरपालिकावाट संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको रूपान्तरण हो। यो अस्पताल अब केवल एउटा उपचार केन्द्र मात्र नभई, गुणस्तरीय सेवा र आर्थिक सफलताको एक उत्कृष्ट नमुना समेत बनेको छ।
१) ​आर्थिक सफलता: आज यो अस्पताल १५ करोडभन्दा बढी नाफामा पुगेको छ, जसले यसको कुशल व्यवस्थापन र दिगोपनलाई प्रमाणित गर्दछ।
२) ​सेवा र सुविधा विस्तार: बिरामीहरूको सुविधाका लागि निशुल्क स्वच्छ खानेपानी, थप टिकट काउन्टर, र व्यवस्थित प्रतीक्षालयको व्यवस्था गरिएको छ।
३) ​फार्मेसी र आपूर्ति: फार्मेसीलाई आधुनिक बनाउँदै, नियमित खरिद प्रक्रियामार्फत औषधिको सहज र पर्याप्त आपूर्ति सुनिश्चित गरिएको छ।
४) ​शल्यक्रिया र प्रविधि: दैनिक २० वटासम्म सर्जरी सफलतापूर्वक सम्पन्न भइरहेका छन्। साथै, स्पेसल मोडुलर ओटी, डाइलाइसिस र सीटी स्क्यान सेवा सञ्चालनमा आएका छन्।
५) ​आधुनिक पूर्वाधार: आधुनिक आईसीयू निर्माणको चरणमा छ, ब्लड बैंकको भवन निर्माण भई सेवा सुरु भइसकेको छ। यसका साथै, क्यान्टिन र मन्दिर निर्माण,पार्किङ तथा अस्पताल क्षेत्रमा ब्ल्क विछ्याउने जस्ता पूर्वाधारका कामहरू पनि सम्पन्न भएका छन्।
६) दक्षीण ​कोरिया सरकारको सहयोग: १ अर्ब २८ करोडको लागतमा निर्माण भइरहेको नयाँ भवनको काम अन्तिम चरणमा पुगेको छ, जसले भविष्यमा अझ उन्नत र व्यापक सहज,गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ।
७) आमा सुरक्षा कार्यक्रम लागू गरिएको छ ।

​नागरिक केन्द्रित स्वास्थ्य कार्यक्रमहरू:

​स्वास्थ्य सेवालाई हरेक नागरिकको पहुँचमा पुर्‍याउन हामीले केही नयाँ र प्रभावकारी कार्यक्रमहरू सुरु गरेका छौँ।
क) ​होमियोप्याथिक सेवा: नेपालका स्थानीय सरकारहरूमध्ये हामीले पहिलोपटक होमियोप्याथिक मेडिसिन सेवा सुरु गरेका छौँ, जसले वैकल्पिक उपचार खोज्ने नागरिकहरूलाई नयाँ विकल्प दिएको छ। आज दैनिक ४० जना भन्दा वढी विरामिहरुलाई शेवा प्रदान गरिरहेको छ ।
ख) ​निशुल्क सेवा: सबै शहरी स्वास्थ्य क्लिनिकहरूलाई चुस्त बनाई निशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणको व्यवस्था गरिएको छ।
ग) ​निःशुल्क स्वास्थ्य बिमा: ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिहरू र उहाँहरूको परिवारका ५ जनासम्म सदस्यलाई निःशुल्क स्वास्थ्य बिमा प्रदान गरिएको छ।
घ) ​निशुल्क रक्त सेवा: रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग गर्न निःशुल्क रक्त सेवा उपलब्ध गराइएको छ।
ङ) ​घरदैलो स्वास्थ्य सेवा: ज्येष्ठ नागरिक सुस्वास्थ्य कार्यक्रम अन्तर्गत हरेक महिना दुई दिन चिकित्सक, फार्मेसी र ल्याबको टोली हरेक वडामा गएर स्वास्थ्य परीक्षण गर्दै आएको छ।
च) ​रोग नियन्त्रण: आर्थिक वर्ष २०८१/८२ मा मात्रै १३,१८४ जनालाई नसर्ने रोगहरूको परीक्षण र जनचेतनामूलक कार्यक्रममार्फत सेवा प्रदान गरिएको छ, जसले नागरिकको स्वास्थ्य जागरूकता बढाएको छ।
छ ) आर्थिक वर्ष २०८२-०८३ का लागि निमोनिया भ्याक्सिनेसन कार्यक्रम : यो कार्यक्रम जेष्ठ नागरिहरुका लागि निशुल्क वितरण गर्न वजेट विनियोजन गरेका छौं ।
नगरपालिकावाट स्वास्थ्य क्षेत्रमा भएका यी उपलब्धिहरूलाई अझै सुदृढ बनाउन नगरवासीको निरन्तर सुझाव र सहयोग आवश्यक रहेको जनाउँदै, “जय मध्यपुर” नारासहित भविष्यमा थप सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here