भक्तपुर, २४ असार २०८१: आइतबार दायित्व वाङ्मय प्रतिष्ठानको पुस्तकालय भवन बूढानीलकण्ठ-८ मा दायित्वको ‘ब्यूरो ८१ नेपाल साहित्यिक विशेषाङ्क’ लोकार्पण गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान र ब्यूरो ८१ नेपालको संयुक्त आयोजना तथा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र पूर्वमन्त्री एवं कवि एसपी कोइरालाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो।
प्रमुख अतिथि नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारिता गर्नु सहज नभए पनि दायित्वको यात्रा नरोकिएको बताएका छन्। उनले भने, “साहित्यिक पत्रकारिता गर्नु भनेको सजिलो काम होइन, यति हुँदाहुँदै पनि दायित्वको यात्रा रोकिएको छैन जुन दायित्व परिवारले गरेको त्याग र तपस्याको परिणति रहेको हो।”
प्रमुख अतिथि एसपी कोइरालाले भने, ‘निजामती सेवाका कर्मचारीले साहित्य सिर्जना गरेर एउटा विशेषाङ्क नै प्रकाशित हुनु भनेको प्रशासनिक क्षेत्रमा पनि संवेदित व्यक्ति छन् र तिनीहरुले जनताको भावना बुझेर जनअनुकूल काम गर्छन् भन्ने हो।’
उक्त समारोहमा विशिष्ट साहित्यकारहरु डा. महेश्वर शर्मा र सूब सेनले शुभकामना मन्तव्य दिनुभएको थियो भने विशेषाङ्कबारे प्रा.डा. रामप्रसाद ज्ञवालीले टिप्पणी गर्नुभएको थियो ।
दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा ब्यूरो ८१ नेपालको सहआयोजनामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले भने, ‘प्रतिष्ठानको भवनमा यति विशिष्ट व्यक्तित्वहरु आउनु भनेको भवन नै पवित्र हुनु हो। जहाँ वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी जस्ता व्यक्तिको १०२ वर्षको उमेरमा पदार्पण भयो र यस्तै अन्य साहित्य हस्तीहरुको पनि आगमन भयो। यस अर्थमा हामी धन्य छौँ।’
ब्यूरो ८१ नेपालका संस्थापक अध्यक्ष वसन्त गौतम लगायत अन्य निवर्तमान अध्यक्षहरु र सदस्यहरुको भव्य उपस्थिति रहेको उक्त लोकार्पण कार्यक्रममा प्रसिद्ध कवि प्रह्लाद पोखरेल, वसन्त गौतम र रमेश खनालले कविता वाचन गरेका थिए भने सो कार्यक्रममा पूर्व प्रशासक एवं राजदूत मधुवन पौडेल, नियात्राकार चन्द्रप्रसाद भट्टराई र जय छाङ्छा राई लगायत साहित्यकारहरुले उपस्थिति जनाएका थिए।
सो कार्यक्रममा अतिथिहरुको स्वागत गर्दै प्रतिष्ठानका उपाध्यक्ष तथा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले प्रतिष्ठानका गतिविधिहरुको चर्चा गरेका थिए भने ब्यूरो ८१ नेपालका सचिव राममणि दुवाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।