मध्यपुर थिमि नगरपालिका आन्तरिक आय संकलनमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गर्न सफल भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा रु. १८ करोड ४५ लाख मात्र आन्तरिक आय संकलन भएकोमा २०७९/०८० मा यो रकम रु. २४ करोड २३ लाख पुगेको थियो। त्यसपछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै सबैभन्दा बढी रु. ३० करोड ४ लाख आन्तरिक राजस्व संकलन भएकाे नगर उपप्रमुख बिजयकृष्ण श्रेष्ठले बताए।
हालै सम्पन्न आ.व. २०८१/०८२ मा केही गैह्रकर राजस्वमा कमी आए पनि कुल आन्तरिक आय रु. २७ करोड १७ लाख संकलन भएको छ। यद्यपि, दिगो स्रोत मानिने कर राजस्वमा भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ। सम्पत्ति कर, भूमिकर, बहाल कर र व्यवसाय कर सबैमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। विशेषगरी, व्यवसाय करमा ४५.२१ प्रतिशत, बहाल करमा १७.५८ प्रतिशत र विज्ञापन करमा ७८.४१ प्रतिशत वृद्धि भएको छ।
नगरपालिकामा प्राकृतिक स्रोतबाट आम्दानी हुने अवस्था नरहेकाले करयोग्य आयमा भएको वृद्धि सकारात्मक उपलब्धि भएकाे उप्रमुख श्रेष्ठले बताए । कर दर बढाउनेभन्दा करको दायरा विस्तारमा जोड दिइँदै आएको र यसका लागि विभिन्न नीतिगत तथा कानूनी सुधार, व्यवसाय दर्ता अभियान, विज्ञापन कर संकलनका प्रभावकारी कार्यक्रम, बहाल करमा बहुदर प्रणाली, बक्यौता कर असूली, कर छुट तथा सहुलियत व्यवस्था, र कर सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
आन्तरिक आयमा भएको यस वृद्धिले जनताका लागि आवश्यक विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न थप स्रोत उपलब्ध गराएको छ। नगरपालिकाले यसै अवधिमा निशुल्क स्वास्थ्य बीमा, निशुल्क रक्त सुविधा, ज्येष्ठ नागरिक सहयोग कार्यक्रम, र नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल सुधारजस्ता महत्वपूर्ण कार्यक्रमहरू सुरु गरेको छ।
आयको वृद्धिले सेवा–सुविधा विस्तार र जनकल्याणकारी कार्यक्रमहरूलाई दीर्घकालीन रूपमा टेवा पुर्याउने विश्वास गर्न सकिन्छ ।