३१ साउन, मध्यपुर थिमि ।
मध्यपुर थिमि नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि महत्त्वपूर्ण दुई पहल सम्पन्न गरेको छ। काठमाडौं विश्वविद्यालय (KU) संगको सहकार्यमा सञ्चालित कक्षा कोठामा आधारित शिक्षण सहयोग कार्यक्रम सफलतापूर्वक सम्पन्न भई शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको छ भने, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृतले गर्नु भएको थियो ।
नगरपालिकाको आयोजना तथा काठमाडौं विश्वविद्यालयको सहकार्यमा सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई लक्षित गरी सञ्चालन गरिएको कक्षा कोठामा आधारित शिक्षण सहयोग कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा सहभागी शिक्षकहरूलाई नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो। उपप्रमुख श्रेष्ठले प्रमाणपत्र प्राप्त गरेका शिक्षकहरूले सिकेको ज्ञानलाई कक्षा कोठामा व्यवहारमा उतार्ने हो भने विद्यार्थीको सिकाइमा प्रत्यक्ष सुधार हुने विश्वास व्यक्त गर्नुभयो।
यसै अवसरमा सामुदायिक विद्यालय सुधारलाई संस्थागत बनाउन नगरपालिकाले प्रधानाध्यापक कार्यसम्पादन सम्झौता पनि सम्पन्न गरेको छ। यस सम्झौतामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकबीच हस्ताक्षर भएको थियो। नगर प्रमुख श्रेष्ठले सामुदायिक विद्यालयलाई स्थानीय सरकारको पहिलो प्राथमिकता भएको बताउँदै निःशुल्क शिक्षाको अभियान सार्थक गर्ने साधन सामुदायिक विद्यालय नै भएकोले नगरपालिका यसको स्तरोन्नतिका लागि लागिरहेको स्पष्ट पार्नुभयो। उहाँले विद्यालय सुधार योजना (SIP) लाई व्यवहारमा उतार्न र हरेक विद्यालयलाई परिणाममुखी बनाउन यस्तो सम्झौता आवश्यक रहेको बताउनुभयो।
प्रधानाध्यापकहरू विद्यालयका कप्तान हुन्, उहाँहरूको नेतृत्व र जिम्मेवारीले नै विद्यार्थीको भविष्य तय गर्छ भन्दै यो सम्झौताले विद्यालयको गुणस्तर वृद्धि मात्र नभई स्थानीय शिक्षा प्रणालीमै नयाँ विश्वास जगाउने उहाँको भनाइ थियो।
नगरपालिकाले ल्याएको यो प्रणालीले विद्यालयको नेतृत्वलाई परिणाममुखी र शिक्षकलाई अझ व्यावसायिक बनाउन मद्दत गर्ने जनाएको छ। सम्झौतामा विद्यार्थी भर्ना र उपस्थित दर, सिकाइ उपलब्धि, परीक्षाफल, पूर्वाधार सुधार, पारदर्शी स्रोत व्यवस्थापन तथा समुदायसँग सहकार्य जस्ता सूचकहरूलाई विशेष प्राथमिकता दिइएको छ।
नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले सामुदायिक विद्यालय सुधारको मूल आधार शिक्षकको क्षमता र विद्यालय नेतृत्वको जवाफदेहितामा भरपर्ने कुरामा जोड दिनुभयो। उहाँले प्रधानाध्यापकसँग गरिएको कार्यसम्पादन सम्झौता कागजमा मात्र सीमित नभई विद्यालयको गुणस्तर वृद्धिको व्यवहारिक औजार बन्नुपर्ने बताउनुभयो। यसबाट विद्यालयको परिणाम, पारदर्शिता र प्रतिस्पर्धामा सकारात्मक प्रभाव पर्नेमा नगरपालिकाको पूर्ण विश्वास रहेको उहाँले उल्लेख गर्नुभयो। नगरपालिकाले शिक्षामा लगानी गर्न कन्जुस्याइँ नगरेको र अबको केही वर्षमा जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय मध्यपुरको हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। जन आदर्श क्याम्पस, जनक सिद्धिकाली मा.वि., महेन्द्र आधारभूत मा.वि. का साथै अन्य सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा मध्यपुर थिमि नगरपालिका लागिरहेको जानकारी पनि उहाँले दिनुभयो।